काठमाडौंमा असुरक्षित रूपमा फलाम बोकेको ट्रक, सामाजिक सञ्जालमा आलोचना तीव्र

काठमाडौं, वैशाख २ – काठमाडौंको एक व्यस्त सडकमा फलामका सामाग्री असुरक्षित ढंगले बोकेको ट्रक देखिएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। घटनाको तस्बिर साझा गर्दै प्रतिनिधिसभा सदस्य सोबिता गौतमले
ट्राफिक प्रशासनको ध्यानाकर्षण गराएकी छन्।

उक्त ट्रकले फलामका लामो पाइपहरू केवल डोरीको सहारामा बाँधेर सडकमा चलिरहेको देखिन्छ। तस्बिरमा ती फलामका सामाग्रीहरू ट्रकको पछाडि निकै झुन्डिएको अवस्थामा देखिन्छन्, जसले जुनसुकै बेला झरेर दुर्घटना गराउन सक्ने अवस्था छ। ट्रकको पछाडि एक मोटरसाइकल सवार पनि देखिन्छन्, जसलाई यस्तो लापरबाहीबाट सिधा खतरा हुन सक्छ।

सोबिता गौतमले आफ्नो पोस्टमा लेखेकी छन्, “फलाम खस्न सक्छ, फलाम खसरे गुडेको सवारीमाथि बज्न सक्छ, फलामले छेड्न सक्छ। यस्ता धेरै असुरक्षित लोड गरिएका गाडी सडकमा दिनहुँ गुडिरहेका छन्।”

उनले ट्राफिक महाशाखालाई तत्काल यस्ता असुरक्षित सवारी साधनमाथि निगरानी बढाउन र कडाइपूर्वक कारबाही गर्न आग्रह गरेकी छन्।

यो घटनाले काठमाडौं उपत्यकामा ट्राफिक सुरक्षा र नियम पालनाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ। सर्वसाधारणले पनि यस्ता लापरबाहीका कारण सडकमा हिँड्नसमेत डर लाग्ने अवस्था रहेको गुनासो गर्दै आएका छन्।

सडकमा सुरक्षाको बेवास्ता

यसरी लापरबाहीपूर्वक लोड गरिएको गाडीले नजिकैका सवारीसाधनलाई ठक्कर दिने, डोरी फुस्केर सामग्री खस्ने, र पैदलयात्री तथा सवारी चालकलाई गम्भीर चोट लाग्ने खतरा रहन्छ। ट्राफिक प्रहरीको उपस्थिति नहुँदा वा निगरानी कमजोर हुँदा यस्ता गाडीहरू खुलेआम सडकमा गुडिरहेका छन्।

ट्राफिकको प्रतिक्रिया आउन बाँकी

हालसम्म ट्राफिक महाशाखाको आधिकारिक प्रतिक्रिया आइसकेको छैन, तर सामाजिक सञ्जालमा चर्किएको आलोचना र व्यापक जनदबाबलाई ध्यानमा राख्दै सम्बन्धित निकायले छिट्टै कारबाही गर्ने अपेक्षा गरिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top